लालबन्दि, श्रावन १४ – हिजो दिनभर तनावग्रस्त भएको सप्तरीको दशगजा क्षेत्र अहिले भने शान्त छ । भारतीय पक्षले एकलौटी रुपमा बनाएको बाँध त्यहाँका स्थानीयबासिन्दाले भत्काएपछि गए रातिसम्म झडप भएको थियो । झडपमा सातजना घाइते भएका छन् ।

उनीहरुको राजबिराजमा रहेको अञ्चल अस्पतालमा उपचार भइरहेको छ । नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले जबर्जस्ती बनाएको बाँधले झण्डै एकदर्जन गाविस डुबानको जोखिममा परेपछि सप्तरीको तिलाठी गाविसका बासिन्दाले भत्काइदिएका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अब दुई देशबिच छलफल भएर आधिकारिक निर्णय नआएसम्म बाँध बनाउने काम अघि नबढ्ने बताउनुभयो । यसैबिच नेपालको कोसी ब्यारेजमा विभिन्न आतङ्ककारी समूहबाट आक्रमण हुनसक्ने भनी केही स्वदेशी र विदेशी सञ्चारमाध्यमबाट प्रकाशित समाचारप्रति गृहमन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले विज्ञप्ती निकालेर यस्तो हल्ला र अफवाहबाट त्रसित नहुन सम्बन्धित सबैमा आग्रह गर्नुभएको हो । विज्ञप्तिमा भनिएको छ, ‘सुरक्षा जस्तो संवेदनशील विषयमा यथोचित प्रक्रिया र धारणाबिना समाचार प्रसारित हुनाले समाजमा क्रसित तुल्याउने र सुरक्षाको आन्तरिक मामिलामा असर पर्न जाने भएकाले यसतर्फ सम्बन्धित सबैको ध्यान जानु वाञ्छनीय हुन्छ ।’

नेपाल सरकारबाट कोसी ब्यारेजलगायत देशका सबै महत्वपूर्ण संरचना, संस्थाको पर्याप्त सुरक्षा व्यवस्था गरिएको र यस्तो सुरक्षा व्यवस्था गर्न नेपाल सरकार सक्षम रहेको मन्त्रालयले जनाएको छ ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*