श्रावण ३१ – उत्तर कोरियाका नेता किम जोङ–उनले प्रशान्त महासागरमा रहेको अमेरिकी क्षेत्र गुआम मा मिसाइल आक्रमण गर्ने योजना बारे अरु नेता तथा उच्च सैन्य अधिकारीलाई जानकारी गराउनु भएको छ ।

नेता किमले देशका नेता तथा सैन्य अधिकारीलाई गुआममा मिसाइल आक्रमणको तयारी बारे विस्तृत जानकारी गराउनु भएको उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएले जनाएको छ । गुआममा मिसाइल आक्रमणका लागि उत्तर कोरिया तयारी अवस्थामा रहेको तर नेता किम त्यहाँ आक्रमण गर्नुअघि अमेरिकाको गतिविधिको निरीक्षणमा रहेको दाबी गरिएको छ ।

अमेरिकाले केही कदम चाल्ने बित्तिकै नेता किमले मिसाइल आक्रमणका लागि आदेश दिने दाबी गरिएको छ । गएको हप्ता उत्तर कोरियाले गुआममा चारवटा मिसाइल आक्रमण गर्ने तयारी गरेको बताएको थियो । गुआममा अमेरिकी बमवर्षक विमान तथा हतियारको भण्डार छ ।

अमेरिकाले पनि उत्तर कोरियाले आफ्नो गतिविधि नियन्त्रणमा नराखे सैन्य कारवाहीका लागि तयारी अवस्थामा रहेको र त्यो अवस्था आए उसले गम्भीर मूल्य चुनाउनु पर्ने चेतावनी दिँदै आएको छ । नेता किमले अमेरिकाले आफ्नो देश नजिक रणनीतिक महत्वका धेरै परमाणु हतियार ल्याएको र उसले केही गरेमा आफूहरु त्यसको प्रतिवादका लागि तयार रहेको बताएको केसिएनएले दाबी गरेको छ ।

अमेरिकाले चाहेमा कोरियाली प्रायद्विपमा बढ्दै गएको तनाव अन्त्य गर्न सक्ने र यसले सम्भावित सैन्य युद्ध पनि रोकिन सक्ने नेता किमको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*