सर्लाही, असोज १२ – बडादशैंको आठौं दिन आज देशभर माता दूर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी मनाइँदै छ । काठमाडौंका दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, संकटा, बज्रबाराहीलगायत शक्तिपीठमा बलि दिने प्रचलन छ ।
दशैंघर र कोतलगायत शक्तिपीठहरुमा बलिसहित पूजाअर्चना र दुर्गा सप्तशती पाठ गर्ने परम्परा छ ।यस्तै, काभ्रेस्थित पलाञ्चोक भगवती, बनेपाको चण्डेश्वरी, गोरखाको मनकामना, वीरगञ्जको गहवामाई, सप्तरीको छिन्नमस्ता, जनकपुर राजदेवी, डडेल्धुरा उग्रतारालगायत पीठहरुमा पूजाआराधना हुन्छ ।

दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीक मानेर चामल, सुनचाँदीका गहना, सुपारी, जनै र नैवेद्यसहित नौ वटा वस्तुको दुर्गा थापी पूजा गर्ने चलन छ । किसानले फलामे औजारको पूजा गर्छन् । यस्तै, सवारीधनीहरुले आफ्ना साधनलाई बलिसहित पूजा गर्छन् ।

पशुबली नचढाउनेहरुले पूजाकोठामा मूला, कुभिन्डो, घिरौंलालगायत तरकारीको बलि दिने गर्छन् ।

कतिपय स्थानमा दुर्गा भवानीलाई खीर र नरिवल चढाउने चलन पनि छ । हनुमानढोकास्थित दशैंघरमा आज मध्यरातमा शक्तिरुपिणी दुर्गा भवानीको पूजाअर्चना र हर्ष बढाइँ हुन्छ । त्यसक्रममा तलेजु भवानीलाई ५४ राँगा र ५४ बोकाको बलि दिई कालरात्रि मनाउने गरिन्छ ।

आजको दिन महाकालीस्वरुपा भद्रकालीको विशेष पूजा गर्ने गरिएको छ ।

प्राचीन कालमा दक्षप्रजापतिको यज्ञ बिथोल्ने उद्देश्यले भद्रकाली करोडौं योनी–शक्तिका साथ आजकै दिन प्रकट भएको विश्वास छ । १६ वटा पूजा सामग्रीका साथ भद्रकालीको पूजाआराधना गर्छन्, भक्तजनले ।

शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्रीलगायत नवदुर्गाका स्वरुपहरुको पूजा गर्ने गरिन्छ ।

पूजा सकिएपछि बोका, कुखुरा, हाँस, खसी, राँगो आदिको बलि दिइन्छ । महाअष्टमी र महानवमीबीचको रातलाई कालरात्रि मान्ने गरिएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*